गोपाल प्रसाद यादवसहित फतुवा बिजयपुरका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

Naya Sansar Online TV 87+ समाचार ( )
१३ कार्तिक २०८३

रौतहट । नेपाली कांग्रेसका नेता तथा फतुवा विजयपुर नगरपालिकाका पूर्वमेयर गोपाल प्रसाद यादवसहित दर्जनौँ नेता–कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। रौतहटको गुजरा नगरपालिका–८, सिमरा भवानीपुरस्थित जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष माननीय गोविन्द चौधरीको निवासमा शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उहाँहरूले जसपा नेपालमा प्रवेश गर्नुभएको हो। 

पार्टी प्रवेश गर्ने प्रमुख व्यक्तित्वहरूमा फतुवा बिजयपुर नगरपालिकाका पूर्वमेयर गोपाल प्रसाद यादव, उहाँका छोरा तथा युवा नेता आदित्य यादव, फतुवा विजयपुर नगरपालिका–१ का युवा नेता एवं वडाध्यक्षका प्रत्याशी जगदीश यादव र वडा नं. ६ का पूर्ववडाध्यक्ष हिरालाल यादव रहनुभएको छ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी र मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवले खादा, माला तथा टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।

पूर्वमेयर गोपाल प्रसाद यादवसहित नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी मा आबद्ध दर्जनौँ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गर्नुभएको हो। यस पार्टी प्रवेशसँगै फतुवा विजयपुर नगरपालिकाको स्थानीय राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।

तस्वीरहरू 

प्रतिक्रिया

सम्बन्धित समाचार